काठमाडौँ। उज्यालो नेपाल पार्टी (उनेपा) ले सुशासन, समृद्धि र सामाजिक न्यायमा जोड दिँदै चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ।
आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी उनेपाका अध्यक्ष कुलमान घिसिङले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्। उनेपाले चुनावी घोषणापत्रलाई प्रतिबद्धतापत्र भनेको छ।
प्रतिबद्धतापत्रमा प्रतिनिधि सभा सदस्य संख्या घटाउने प्रस्ताव गरिएको छ। प्रतिनिधि सभा सदस्य संख्या २७५ बाट घटाएर २०१ बनाउने उनेपाको चुनावी प्रतिबद्धतापत्रमा उल्लेख छ। राज्यलाई हुने आर्थिक भार कम हुने गरी प्रतिनिधि सभा सदस्य संख्या घटाउने प्रतिबद्धता व्यक्त गरिएको अध्यक्ष घिसिङले बताए।
त्यसैगरी प्रदेश सभाको सदस्य संख्या पनि ५५० बाट घटाएर ३३० कायम राख्ने भनिएको छ। ‘खर्च घटाउन प्रतिनिधि सभा सदस्य संख्या २७५ बाट २०१ र प्रदेश सभा ५५० बाट ३३० मा कटौति गर्ने। संघीय मन्त्रालय १५ र प्रदेश मन्त्रालय ५ देखि ७ मा सिमित गर्ने,’ घिसिङले भने, ‘राज्यमन्त्री तथा सहायक मन्त्री नराख्ने व्यवस्था गरिएको छ।’
प्रदेश सरकारको स्थायित्वको लागि मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गरिएको प्रतिबद्धतापत्रमा उल्लेख छ। ‘प्रदेशमा स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको अवधारणा समेत समेटिएको छ। साथै सरकार गठनपछि हरेक वर्ष प्रतिबद्धता कार्यान्वयनका प्रगति रिर्पोट सार्वजनिक गरिने प्रतिवद्धता गरिएको छ,’ उनले भने।
संघीय सरकार १५ सदस्यीय र प्रदेश सरकार बढिमा ७ सदस्यीय हुने पनि उनेपाको प्रतिबद्धतापत्रमा छ। राज्यमन्त्री र सहायकमन्त्री नराख्ने व्यवस्था पनि पनि गर्ने प्रतिबद्धता पत्रमा समावेश गरिएको अध्यक्ष घिसिङले बताए।
प्रतिबद्धतापत्रमा अर्थतन्त्रको सुदृढिकरण र रोजगारीको अवसर सिर्जना गर्नका लागि स्वदेशी पुँजी परिचालनमा जोड दिने नीति अवलम्बन गर्ने उनले बताए।