२०८३ श्रावण ८, शुक्रबार

सुर्खेत। पछिल्लो समय देशभर आएको राजनीतिक उतारचढाव नेकपा एमाले र नेकपाबीच बाम गठबन्धनको तयारीमा पुगेको छ। प्रदेशभर नेकपा एमाले र नेपाली काँंग्रेसबीच भएको गठबन्धन टुटेपछि देशमा नयाँ राजनीति खिचातानी सुरु भएको थियो।

नेकपा एमालेका एक केन्द्रीय सदस्यले एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच बाम गठबन्धनसँगै एकताको बहस अन्तिम चरणमा पुगेको जानकारी दिए।

उनका अनुसार सातै प्रदेशमा एमाले र नेकपाबीच गबन्धन गरेर सरकार निर्माण समेतका विषयमा छलफल भइरहेको छ।

‘आज (शुक्रबार) बेलुकासम्म सातै वटै प्रदेशमा एमाले र नेकपाबीच गठबन्धन गरेर सरकार निर्माण गर्ने कुरामा टुंगो लाग्नेछ। तर, कुन प्रदेश कसले लिने भन्ने विषयमा दुवै दलहरुबीच फाइनल छलफल भइरहेको छ।’ उनले भने।

यस्तै, यसअघि एमाले र नेपाली कांग्रेसबीच गठबन्धनबाट बनेका सातै प्रदेश सरकारहरु अहिले खल्बलिएका छन्। एमालेले नेतृत्व गरेका प्रदेशहरुमा नेपाली कांग्रेसबाट बनेका मन्त्रीहरुले र कांग्रेसले नेतृत्व गरेका प्रदेशहरुमा एमालेका मन्त्रीहरुले राजीनामा बुझाइसकेका छन्।

अब बन्ने नेकपा एमाले र नेकपाबीचको नयाँ गठबन्धनमा प्रदेश सरकार भागबन्डामा बहस भइरहेको छ।

यस्तै, एमालेले यसअघि नेतृत्व गरेका प्रदेशहरु आफुसँगै राख्ने अडान लिएको छ भने नेकपाले बागमति, सूदुरपश्चिम, कर्णाली र कोशी प्रदेश आफुले पाउनु पर्ने दाबी गरेको स्रोतको भनाइ छ। तर, एमाले र नेकपाले कुन प्रदेशको नेतृत्व गर्ने भन्ने विषयमा टुंगिन बाँकी छ।

बाम गठबन्धनको तयारीमा छौँ, टुंगिन बाँकी छः एमाले