वीरेन्द्रनगर। कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जयराज सापकोटाले सल्यान र सुर्खेतका दुई इलाका प्रहरी कार्यालयको स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन्।
प्रहरी नायव महानिरीक्षक सापकोटाले इलाका प्रहरी कार्यालय रागेचौर, सल्यान र इलाका प्रहरी कार्यालय बादेपिपल, सुर्खेतको समग्र वस्तुस्थिति, कार्यालय भवन तथा परिसर, विभिन्न शाखा, उपलब्ध स्रोत–साधन, नवप्रवर्द्धनात्मक कार्य, कार्यालयबाट सम्पादित काम–कारबाही, सेवा प्रवाह तथा गुनासो सम्बोधनको अवस्थाबारे स्थलगत निरीक्षण गरेका हुन्।
निरीक्षणका क्रममा उनले कार्यालयको कार्यसम्पादन, नागरिकलाई प्रदान गरिने सेवाको गुणस्तर तथा प्रहरी संगठनको प्रभावकारिता अभिवृद्धिका विषयमा जानकारी लिनुका साथै सेवा प्रवाहलाई थप छिटो, प्रभावकारी र नागरिकमैत्री बनाउन आवश्यक सुझाव तथा निर्देशन दिए।

सापकोटाले कार्यरत प्रहरी कर्मचारीलाई प्रहरीको काम, कर्तव्य र अधिकारलाई कानुनसम्मत तथा जिम्मेवारीपूर्ण ढंगले कार्यान्वयन गर्न निर्देशन दिए।
उनले प्रहरी सेवाप्रति नागरिकको विश्वास र संगठनको साख अभिवृद्धि हुने गरी उच्च पेशागत निष्ठा, व्यवसायिक दक्षता र नैतिकता कायम राखेर सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए।




