दैलेख। कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले विकासका कार्यक्रम जनताको दैनिकी, उत्पादन र रोजगारीसँग जोडिन नसक्दा त्यसको अनुभूति नागरिकले गर्न नसकेको बताएका छन्।
गुराँस गाउँपालिकाको १८औँ गाउँसभालाई बुधबार प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मन्त्री शाहले विगतको तुलनामा धेरै विकास भए पनि सोचेजस्तो परिवर्तन हासिल हुन नसकेको बताए। विकासले जनताको जीवनस्तर सुधार गर्न नसके असन्तुष्टि बढ्दै जाने उनको भनाइ थियो।

‘दैनिकी सहज बनाउन सकेनौं भने सुनकै चुलो भए पनि त्यसमा पकाउने खानेकुरा नभएजस्तै हुन्छ।’ उनले भने।
शाहले राज्यको क्षमता र नागरिकको जिम्मेवारी स्पष्ट हुनुपर्ने उल्लेख गर्दै उनले सरकारले नीति, नियम, प्रविधि, बजार र लगानीको सुरक्षा सुनिश्चित गर्ने तथा उत्पादन र व्यवसाय विस्तारमा निजी क्षेत्रलाई अघि सार्नुपर्ने धारणा राखे। निजी क्षेत्रबाट उठेको कर सामाजिक न्यायका क्षेत्रमा खर्च हुनुपर्ने उनको भनाइ थियो।
हरेक जनप्रतिनिधिको मुख्य दायित्व नागरिकको न्यूनतम जीवनस्तर सुधार गर्नु भएको बताउँदै उनले अब भाषणभन्दा व्यवहार परिवर्तन आवश्यक रहेको बताए। कृषि, उत्पादन र उद्यमशीलतामा नागरिकलाई सिकाउने र सहभागी गराउने अभियान सबै राजनीतिक दल र जनप्रतिनिधिले सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो।
साथै उनले आफ्नो खेतबारी बाँझो राखेर सरकार, जनप्रतिनिधि वा राजनीतिक दललाई मात्रै दोष दिँदैमा देश नबन्ने उल्लेख गर्दै उनले सबै नागरिक उत्पादनमा जोडिनुपर्ने बताए।
कृषि उत्पादनलाई विषादीरहित र स्वास्थ्यमैत्री बनाउनुपर्नेमा जोड दिँदै शाहले गुराँस गाउँपालिका कृषि र पर्यटन दुवै क्षेत्रका लागि अत्यन्त सम्भावना बोकेको पालिका भएको बताए।
गुराँसमा सञ्चालित टिस्यु कल्चर कार्यक्रमलाई थप आधुनिक बनाउने काम अघि बढिरहेको बताउँदै उनले सबै किसानलाई व्यावसायिक कृषिमा जोड्ने अभियान सुरु भइसकेको बताए।
कर्णालीका रैथाने बालीको बीउ संरक्षण अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख गर्दै उनले परम्परागत बीउ लोप हुने अवस्थामा पुगेको र त्यसको संरक्षणमा तत्काल ध्यान दिनुपर्ने बताए।
युवालाई कृषिमा आकर्षित गर्न प्रदेश सरकारले पर्याप्त बजेट व्यवस्था गरेको उल्लेख गर्दै उनले त्यसको प्रभावकारी उपयोग गर्न सके कृषिमार्फत रोजगारी सिर्जना गर्न सकिने बताए।

गाउँसभाको अध्यक्षता गाउँपालिका अध्यक्ष टोपबहादुर विसीले गरेका थिए।




