सुर्खेत। उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम (आरएचभिएपी) कर्णाली प्रदेश स्तरीय कार्यक्रम व्यवस्थापन कार्यालय सुर्खेतले कर्मचारीहरुलाई अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ। आरएचभिएपी कर्णाली प्रदेश कार्यालयले करार सेवामा नवनियुक्त कर्मचारीलाई अभिमुखीकरणको आयोजना गरेको हो।

अभिमुखीकरण शुक्रबार र शनिबार गरी दुइ दिनसम्म चल्ने कार्यालयका कृषि अधिकृत पूर्णबहादुर थापाले जानकारी दिए। थापाका अनुसार अभिमुखीकरणमा करार सेवामा नवनियुक्त भएका अधिकांश कर्मचारीहरुको सहभागीता रहेको छ।

अभिमुखीकरणमा कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका योजना महाशाखा प्रमुख तिलकप्रसाद पाण्डेले कर्मचारीहरुलाई शुभकामना सन्देश व्यक्त गर्दै उनिहरुको नयाँ जोस र जाँगरले कार्यक्रमको अपेक्षा र उदेश्य अनुरूप सफलता प्राप्त हुने विश्वास व्यक्त गरे।

यस्तै, कार्याक्रमका प्रमुख अतिथि कर्णाली सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले कार्यक्रमको उद्घाटन गर्दै नवयुक्त कर्मचारीहरुलाई स्वागत तथा कर्यासफलताको शुभकामना दिए।
मन्त्री शाहले सयौं जना प्रतिस्पर्धीहरुबाट छनौट भएर सिफासि भएका कर्मचारीहरुको क्षमतालाई प्रशंसा गर्दै उक्त क्षमतालाई कार्यक्षेत्रमा पनि देखाउन सुझाव दिए। उनले भने, ‘कसैको पावर र पँहुचमा नभएर तपाईहरु उत्कृष्ट प्रदर्शनका साथ यो अवस्थामा हुनुहुन्छ। यसले तपाईहरुको भविष्य आफै निर्माण गर्नेछ।’

आरएचभिएपीका प्रदेश कार्यालय व्यवस्थापन प्रमुख तथा अभिमुखीकरण कार्यक्रमका अध्यक्ष बखतबहादुर खड्काले अभिमुखीकरणमा सहभागी कर्मचारीहरुलाई नेपाल सरकारका कर्मचारी सरह सझेर काम गर्न अनुरोध गरे।
साथै उनले कर्मचारीहरुलाई सार्वजनिक पद धारणा गरेपछि आफ्नो स्वच्छ र सफल छवि बनाउन आग्रह गर्दै डिजिटल प्रविधि लगायतका विषयमा अपडेट भएर काम गर्न सुझाव दिए।


