२०८३ असार २७, शनिबार

वीरेन्द्रनगर। कर्णाली नदीमा गाडीसहित बेपत्ता भएका चालकको शव ९ दिनपछि भेटिएको छ। शनिबार बिहान चालक तुलाराम सुवेदीको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार अछामको तुर्माखाँद गाउँपालिका–२ जमगडा स्थित कर्णाली नदीको किनारमा चालक सुवेदीको शव फेला परेको हो।

उक्त शव सुर्खेत पञ्चपुरी नगरपालिका–८ माझिगाउँ घर भएका गाडी चालक तथा मालिक तुलारामको रहेको उनका बुवाले सनाखत गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी श्रवणकुमार विकले जानकारी दिए।

सुर्खेतबाट कालीकोटका लागि छुटेको कर्णाली प्रदेश ०२००१ ख १०५५ नम्बरको गाडी असार १८ गते बिहान साढे ११ बजेको समयमा दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित कर्णाली राजमार्गको साङ्गतेडा क्षेत्रमा सडकबाट करिब चार सय मिटर तल कर्णाली नदीमा खसेर डुबेको थियो।

सोेही दिन भीर अड्किएको अवस्थामा कालीकोटको पचालझना गाउँपालिका–९ का जेखे तिरुवाको उद्धार गरेर उपचारका लागि अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए।

यस्तै, गाडीसहित बेपत्ता भएका यात्रुहरुमा कालीकोटको पचालझरना गाउँपालिका–९ कै मेघे तिरुवाको शव सोमबार कैलालीको मोहान्याल गाउँपालिका–६, सुङ्गरखाल सोल्टा नजिक भेटिएको थियो।

त्यसपछि कर्णाली नदीमा असार २३ गते अपराह्न ४ बजेको समयमा सुर्खेतको चौकुने गाउँपालिका–४, डङ्डगेस्थित कर्णाली नदीको छालमा कालीकोट रास्कोट नगरपालिका(२ बस्ने १८ वर्षीय सिर्जना खड्काको शव फेला परेको थियो।

यस्तै, गाडीमा सवार सह–चालक रामप्रसाद स्वेदी अझै बेपत्ता छन्। उनि शव भेटिएका चालक तुलारामका दाइ हुन्।